विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै विद्यालय

0 10

तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन् ।
मनोहर माध्यमिक विद्यालयले विद्यार्थीलाई टपरी बुन्ने सीप सिकाउन थालेको छ। प्रधानाध्यापक हरिमा नेपालीका अनुसार, पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यले दुना र टपरी बनाउने सीप प्रदान गरिएको हो।

नेपालमा आल्मुनियम कागज प्लेटको प्रयोग बढ्दा सालको पातबाट बनाइने दुना टपरीको चलन लोप हुँदै गएको छ। नेपालीले भने, “आजका युवापुस्तालाई यसको ज्ञान पनि छैन।”

त्यस्तै, भानु नगरपालिका, ६ स्थित प्रभात आधारभूत विद्यालयले मकैको खोस्टाबाट चकटी बनाउने सीप सिकाइरहेको छ। ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रममा हरेक हप्ताको शुक्रबार सीपमूलक तालिम सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक चिजकुमार सुर्खालीले जानकारी दिए।

शिक्षिका मानकुमारी खवास, प्रतिमा खड्गी, रेखबहादुर थापाले विद्यार्थीलाई चकटी बनाउने प्रक्रिया सिकाएका छन्। शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले भने, “बालबालिकामा जीवनपयोगी सीपको व्यावहारिक अभ्यास सुरु गरेर केही विद्यालयले अनुकरणीय प्रयास गरेका छन्।”

विद्यालयका यी प्रयासहरूले विद्यार्थीको सीप र क्षमतामा सुधार ल्याउने आशा गरिएको छ।