स्याङ्जा समाज यूकेको तेस्रो महाधिवेशन सम्पन्न श्रीमती रुपा (दुर्गा) गुरुङ सर्वसम्मत अध्यक्षमा चयन

0 134

स्याङ्जा समाज यूकेको तेस्रो महाधिवेशन २५ जनवरी २०२५, आइतबार लन्डनस्थित पोष्ट अफिस स्पोर्ट्स क्लब, सडबरी हिल, ह्यारो मा भव्य रूपमा सम्पन्न भएको छ। समाजका अध्यक्ष भरत गुरुङको अध्यक्षतामा सम्पन्न उक्त महाधिवेशनले श्रीमती रुपा (दुर्गा) गुरुङलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको छ।

महाधिवेशनको उद्घाटन अध्यक्ष भरत गुरुङ, प्रमुख अतिथि स्याङ्जा सहयोग समाज (ICC) का अध्यक्ष मिन क्षत्री, संस्थापक अध्यक्ष सारदा गुरुङ, संरक्षक थर्क सेन, दिपक (डेभिड) गुरुङ तथा महिला संयोजक हुम कुमारी गुरुङद्वारा दीप प्रज्वलन गरी गरिएको थियो।

पहिलो सत्र : स्वागत, समीक्षा र शुभकामना

कार्यक्रमको पहिलो सत्रमा संस्थाका उपाध्यक्ष भक्त दर्जीले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई हार्दिक स्वागत गरेका थिए। त्यसपछि संस्थापक अध्यक्ष, संरक्षकहरू, प्रमुख सल्लाहकार, विभिन्न संघ–संस्थाका अध्यक्ष तथा विशिष्ट व्यक्तिहरूले संस्थाको गतिविधि, उपलब्धि र भावी दिशाबारे आफ्ना धारणा राख्दै शुभकामना व्यक्त गरेका थिए।

शुभकामना मन्तव्य दिनेहरूमा संरक्षक थर्क सेन, श्री प्रसाद गुरुङ, प्रेम गुरुङ, डा. बलराम ढकाल, संरक्षक दिपक (डेभिड) गुरुङ, सुनिल राना, नारायण गुरुङ, मदन राना, जगदीश गुरुङ, सहारा यूकेका पूर्व अध्यक्ष कृष्ण गुरुङ, लाल बहादुर गुरुङ (इङ्ल्यान्ड राज्य पूर्व अध्यक्ष), हेमराज थापा, गंगा गुरुङ (बडी बिल्डिङ अध्यक्ष) तथा आमा समूह संयोजक हुम कुमारी गुरुङलगायत रहनुभएको थियो।

कार्यक्रमको सञ्चालन संस्थाका महासचिव रामराज शर्माले गरेका थिए। उनले संस्थाको स्थापना उद्देश्य, आफ्नो कार्यकालमा गरिएको परोपकारी कार्य तथा स्याङ्जा जिल्लामा प्रदान गरिएको आर्थिक, भौतिक र सामाजिक सहयोगको विस्तृत विवरण प्रस्तुत गरेका थिए।

त्यस्तै, कोषाध्यक्ष शिव सापकोटाले संस्थाको आर्थिक अवस्थाबारे जानकारी दिँदै स्थापना कालदेखि कोभिड–१९ महामारीसम्म स्याङ्जा जिल्लामा गरिएको उल्लेखनीय सहयोगको विवरण प्रस्तुत गरेका थिए।

प्रमुख अतिथिको मन्तव्य

प्रमुख अतिथि मिन क्षत्रीले विदेशमा रहेर पनि मातृभूमि तथा विशेषतः स्याङ्जा जिल्लाको हितमा निरन्तर आर्थिक, भौतिक र भावनात्मक सहयोग पुर्‍याएकोमा अध्यक्ष भरत गुरुङ र उहाँको टिमप्रति हार्दिक धन्यवाद व्यक्त गरे। साथै, आगामी कार्यसमितिबाट पनि यस्तै सहयोगको अपेक्षा गर्दै सम्मानपत्र वाचनसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। आफूप्रति गरिएको सम्मान अविस्मरणीय रहेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो।

अध्यक्ष भरत गुरुङको कार्यकाल समापन

पहिलो सत्रको अन्त्यमा अध्यक्ष भरत गुरुङले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, संरक्षक, सल्लाहकार, महिला संयोजक, कार्यसमिति तथा प्रत्यक्ष–अप्रत्यक्ष सहयोगी सबैप्रति आभार व्यक्त गरे। यस अवसरमा जिल्लाका विभिन्न शाखालाई खादा तथा मायाको चिनो प्रदान गर्दै संस्थागत एकता नै सफलताको मूल आधार भएको उल्लेख गर्नुभयो। अन्त्यमा उहाँले आफ्नो कार्यकाल समापनको घोषणा गर्दै निर्वाचन प्रमुख सारदा गुरुङलाई जिम्मेवारी हस्तान्तरण गर्नुभयो।

दोस्रो सत्र : निर्वाचन प्रक्रिया

दोस्रो सत्रमा बेलायतस्थित स्याङ्जा जिल्लाका विभिन्न गाउँ तथा क्षेत्रीय समाजका प्रतिनिधिहरू सम्मिलित निर्वाचन समिति गठन गरिएको थियो।
निर्वाचन समितिमा:

आयुक्त: संस्थापक अध्यक्ष श्री सारदा गुरुङ

सदस्य: श्री डोल गुरुङ (सल्लाहकार, कोल्माबाहाकोट समाज यूके)

सदस्य: श्री प्रसाद गुरुङ (संरक्षक, सोंपाल समाज यूके)

सदस्य: श्री मदन राना (उपाध्यक्ष, ज्याग्दीखोला समाज यूके)

निर्वाचन समितिका सचिव डोल गुरुङ विशेष कारणवश उपस्थित हुन नसकेपछि सचिव मदन रानाले कार्यक्रम सञ्चालन गरेका थिए।

सर्वसम्मत नेतृत्व चयन

संस्थाका उपाध्यक्ष भक्त दर्जी र रुपा गुरुङ अध्यक्ष पदका प्रत्याशी थिए। समाज हितलाई सर्वोपरि राख्दै भक्त दर्जीले यसपटक चुनावमा नजाने उदार निर्णय गर्दै सौहार्दपूर्ण वातावरणमा महाधिवेशन सफल बनाउन सहमति जनाएपछि रुपा गुरुङ सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुनुभएको थियो। साथै, आगामी कार्यकालमा भक्त दर्जीलाई अध्यक्ष बनाउने सहमतिसमेत गरिएको थियो।

नयाँ कार्यसमिति

नव निर्वाचित अध्यक्ष श्रीमती रुपा (दुर्गा) गुरुङको नेतृत्वमा गठन भएको कार्यसमितिमा:

बरिष्ठ उपाध्यक्ष: भक्त दर्जी

उपाध्यक्षहरू: भिम गुरुङ, रामराज शर्मा

महासचिव: याम गुरुङ

कोषाध्यक्ष: लेख गुरुङ

सह–कोषाध्यक्ष: अमृत गुरुङ

महिला संयोजक: पार्वती गुरुङ

प्रवक्ता: गोमा राना

सदस्यहरू: जुनु विश्वकर्मा, युवराज गुरुङ, अमृत गुरुङ

फोटोग्राफी: श्याम थापा

केही सदस्यहरू पहिलो बैठकबाट थप गरिने जानकारीसहित नयाँ कार्यसमितिले सपथ ग्रहण गरेको थियो।

अध्यक्षको प्रतिबद्धता

अध्यक्ष रुपा गुरुङले आफूमाथि गरिएको विश्वासप्रति आभार व्यक्त गर्दै संस्थाको गरिमा उच्च राख्न इमान्दारिताका साथ जिम्मेवारी बहन गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, निवर्तमान अध्यक्ष भरत गुरुङ र उहाँको सम्पूर्ण टिमप्रति धन्यवाद व्यक्त गर्नुभयो।