झ्याप्ले खोलामा आमासँगै अस्ताए जुम्ल्याहा दाजुबहिनी, अन्तर्राष्ट्रिय सम्मेलनको यात्रा अधुरै
बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा अध्ययनरत १५ वर्षीय जुम्ल्याहा दाजुभाइ दीपेश र दीपिका भट्टराईको जीवनमा नयाँ खुसीका क्षणहरु आउनु अगावै दुखद अन्त्य भएको छ। बुटवलबाट काठमाडौं हुँदै बंगलादेशसम्मको उनीहरूको यात्रा धादिङको झ्याप्ले खोलामा पहिरोको चपेटामा परेर सधैका लागि टुंगिएको छ।
विद्यालयमा उत्कृष्ट नतिजा ल्याउँदै गरेका यी जुम्ल्याहा दाजुबहिनी शुक्रबार बिहान बुटवलबाट आमा सिता भट्टराईलाई लिएर नयाँ अवसरको खोजीमा काठमाडौं जाँदै थिए। उनीहरुको गन्तव्य भने बंगलादेश थियो, जहाँ उनीहरूलाई ३२ राष्ट्रका विद्यार्थीहरु सहभागी रहेको एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जानुपर्ने थियो। यो सम्मेलनले उनीहरूको प्रतिभा विश्वसामु उजागर गर्ने अवसर प्रदान गर्ने थियो। विद्यालयमा उत्कृष्ट विद्यार्थीको रुपमा परिचित दीपेश र दीपिका हरेक वर्ष आफ्ना शिक्षकहरू र साथीहरूसँग शैक्षिक गतिविधिमा अब्बल साबित भइरहेका थिए। उनीहरूको यही प्रतिभाका कारण नै बंगलादेशसम्मको यो महत्त्वपूर्ण सम्मेलनमा सहभागिता जनाउने अवसर प्राप्त भएको थियो।
तर, भाग्यले उनीहरूको यो यात्रा पूरा हुन दिएन। काठमाडौं पुग्न करिब २० किलोमिटर मात्र बाँकी रहेको बेला धादिङको झ्याप्ले खोलामा आएको भीषण पहिरोले उनीहरू सवार लु १ ज ४५७८ नम्बरको विंगर जिपलाई पुरेको थियो। पहिरोमा पुरिएर १४ जना यात्रुहरूको मृत्यु भएकोमा दीपेश, दीपिका र उनकी आमा पनि सोही पहिरोको सिकार बने। उनीहरूको सपना, भविष्यका योजना, र देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा जित्ने आकांक्षा पहिरोले नै बगायो।
विद्यालयका शिक्षकहरूका अनुसार दीपेश र दीपिका दुवै जना शान्त स्वभावका र निकै मेहनती विद्यार्थी थिए। दुवै जनाले आफूले लिएको जिम्मेवारीलाई समयमै पूरा गर्ने गर्थे र विद्यालयको परीक्षा तथा अन्य प्रतियोगितामा सधैं उत्कृष्ट प्रदर्शन गर्थे। उनीहरूको अचानक भएको निधनले विद्यालय, परिवार र साथीहरूलाई ठूलो धक्का दिएको छ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएर उत्साहित रहेका दीपेश र दीपिका दुवैका लागि यो यात्रा नयाँ सपना साकार गर्ने मार्ग थियो। तर, दुर्भाग्यवश, उनीहरूको यो सुन्दर सपना धादिङको पहिरोले सदाका लागि समाप्त गरिदिएको छ। जसले न केवल परिवारको खुसी चकनाचुर बनाएको छ, तर देशले सम्भावित नयाँ पुस्ताका प्रतिभाशाली अनुहार गुमाएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले ती यात्रुहरूलाई पहिरोको थुप्रोबाट शनिबार साँझमात्र उद्धार गरेको थियो। उद्धारपश्चात, उनीहरूका शव शिक्षण अस्पताल, महाराजगञ्जमा पठाइएको छ। यो घटनाले सिंगो बुटवललाई स्तब्ध बनाएको छ भने परिवारजनलाई अपूरणीय क्षति पुगेको छ।