गोकर्णेश्वरवासीका लागि स्वास्थ्य सेवामा नयाँ सुविधा, HAMS अस्पतालसँग सम्झौता
सुभाष शर्मा_ प्रयाश टि.भी.
गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दाले अब धुम्बाराहीस्थित HAMS अस्पतालबाट एक लाख रुपैयाँसम्मको उपचार सेवा निःशुल्क पाउने भएका छन्।
गोकर्णेश्वर नगरपालिकाले नगरवासीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले HAMS अस्पतालसँग स्वास्थ्य उपचारसम्बन्धी सम्झौता गरेको हो।
सम्झौताअनुसार गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दाले अस्पतालमा उपचार गराउँदा एक लाख रुपैयाँसम्मको उपचार सेवा निःशुल्क प्राप्त गर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, निःसन्तान दम्पतीका लागि पनि सम्झौतामा विशेष सुविधा समेटिएको छ। अस्पतालमा कार्यरत डा. भोला रिजालको टिममार्फत IVF (इन भिट्रो फर्टिलाइजेसन) उपचार गर्नुपर्ने अवस्था आएमा एक लाख रुपैयाँसम्मको उपचार निःशुल्क उपलब्ध गराउने सहमति भएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार स्वास्थ्य उपचारमा आर्थिक पहुँच कमजोर भएका नागरिकलाई राहत पुर्याउने तथा नगरवासीलाई विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच दिलाउने उद्देश्यले यो सम्झौता गरिएको हो।
विशेषगरी IVF जस्तो महँगो उपचार आवश्यक पर्ने निःसन्तान दम्पतीका लागि नगरपालिकाको यो पहल महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। यसले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई केही हदसम्म कम गर्ने विश्वास गरिएको छ।

नगरपालिकाले सम्झौताअन्तर्गत उपलब्ध हुने स्वास्थ्य सेवाबाट लक्षित नगरवासीलाई लाभ लिन आग्रह गरेको छ। साथै, सेवा प्राप्त गर्न आवश्यक प्रक्रिया, योग्यता तथा कागजातबारे सम्बन्धित निकायबाट जानकारी लिन सकिने जनाएको छ।
गोकर्णेश्वर नगरपालिकाको यो पहलसँगै नगरवासीले उपचारका लागि थप सहज र सहुलियतपूर्ण स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।
