ममता काफ्ले प्रकरण: प्रहरीले गुगलसँग माग्यो नरेशको लोकेशन हिस्ट्री
अमेरिकाको भर्जिनियाबाट सम्पर्कविहीन भएकी ममता काफ्लेको प्रकरणमा प्रहरीले नरेश भट्टको गुगल सर्च हिस्ट्री र लोकेशन विवरण माग्ने प्रक्रिया अघि बढाएको छ। अनुसन्धानका लागि आवश्यक अनुमति लिएर ‘गुगल सर्च वारेन्ट’ पठाइएको हो।
अधिकारिक स्रोतका अनुसार, ममता बेपत्ता भएको घटनामा नरेशको सर्च हिस्ट्री र अन्य सोसल मिडिया एकाउन्टको जानकारीले महत्वपूर्ण प्रमाण साबित हुनसक्छ। प्रहरी अनुसन्धान टोलीका एक अधिकारीले भने, “जियो लोकेसन र सर्च गरिएका वेबसाइटहरूले पनि केही क्लू प्रदान गर्न सक्छन्।”
मनसास पार्क प्रहरीले जुलाई २७ देखि अगस्ट २१ सम्मको विवरण मागेको छ। नरेश पक्षका वकिलहरूले ममता जीवित भएको दाबी गर्दै उनलाई छाड्नुपर्ने माग गरेका छन्। तर, अभियोजक पक्षले गुगलसँग विस्तृत विवरण मागिएको बताएका छन्।
ममता हराइरहेका बेला नरेशले आफ्नो टेस्ला कार पनि विक्री गरेको जानकारी प्राप्त भएको छ। प्रहरीले कारको क्यामरा फुटेज र जीपीएस लोकेशन डाटा निकाल्न प्रयास गरिरहेको छ। अनुसन्धानमा संलग्न अधिकृतहरूले ममता हत्या गरिएको हुनसक्ने आशंका गरेका छन्, तर हालसम्म उनलाई फेला पार्न सकेका छैनन्।
ममता १५ साउनदेखि सम्पर्कविहीन भएकी थिइन्, र घरमा भारी मात्रामा रगत फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गर्यो। नरेशलाई पक्राउ गर्दा प्रहरीले घरबाट कार्पेट पनि लिएको थियो। अदालतको सुनुवाइमा अभियोजकले ममता जीवित नभएको निष्कर्षमा पुगेको जानकारी दिएका छन्।
अधिकृतहरूको आशंका अनुसार, कोठामा झगडापछि रगतको धारा बाथरुमसम्म घिसारेर लगेको हुनसक्नेछ। स्थानीय सञ्चारमाध्यममा सार्वजनिक भएका कोठा र बाथरुमका तस्वीरहरूले पनि यस आशंकालाई बल पुगेका छन्।
प्रहरीले ब्लूस्टार प्रविधिको प्रयोग गरेर कोठामा रगतको मात्रा पहिचान गर्ने प्रयास गरेको छ। यसरी जाँच गर्दा रगत भएको स्थानमा निलो रंग देखिएको छ, जसले ममता जीवित नहुने संकेत गर्न सक्छ। अनुसन्धानको क्रममा नरेशविरुद्ध शरीर लुकाएको अभियोग मात्रै लगाइएको छ, यद्यपि घटनाको पृष्ठभूमि जटिल रहेको देखिन्छ।
यस घटनामा थप अनुसन्धान जारी रहेको छ, र प्रहरी अधिकारीहरूले नरेशको विवरण र ममतासँगको सम्बन्धका बारेमा गहिरो अनुसन्धान गरिरहेका छन्।