देशका धेरै ठाउँमा उखरमाउलो गर्मी, तराईका सबैजसो जिल्लाकाे तापक्रम ३५ डिग्रीभन्दा माथि
देशका धेरै ठाउँमा उखरमाउलो गर्मी, तराईका सबैजसो जिल्लाकाे तापक्रम ३५ डिग्रीभन्दा माथि ….देशका धेरै ठाउँमा उखरमाउलो गर्मी बढेको छ। तराई मधेशका सबैजसो जिल्लाहरूमा तापक्रम ३५ डिग्रीभन्दा माथि पुगेको छ, भने महोत्तरीको मनरा शिसवा नगरपालिकाले अत्यधिक गर्मीका कारण ६ दिनका लागि विद्यालय बन्द गरेको छ। मौसमविद् रोजन लामिछानेका अनुसार, भोलिसम्म गर्मी जारी रहने र दिउँसोपछि घट्ने अनुमान छ। जलवायु विज्ञ डा. ङमिन्द्र दाहालले तराईमा हरियाली र पानीका स्रोतहरू घट्दै जाँदा गर्मी बढेको बताउनुभएको छ। सामान्यतया असोज लागेपछि गर्मी निकै कम हुनुपर्नेमा यो वर्ष केही दिनदेखि गर्मी बढेको तराई मधेशका बासिन्दा बताउँछन् । गर्मी निकै बढेपछि महोत्तरीको मनरा शिसवा नगरपालिकाले नगरभित्रका विद्यालयहरूमा आजदेखि ६ दिनका लागि बिदा दिएको छ । अधिकतम तापक्रम ४५ डिग्री सेल्सियस आपपासमा रहेकाले विद्यालय बिदा गरेको प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिनुभयो । असोज लागेपछि बढेको गर्मीले सरकारी कार्यालयमा सेवाग्राही घट्नुका साथै हाटबजार, गाडी र व्यापारिक प्रतिष्ठानमा पनि चहलपहल घटेको शर्माले बताउनुभयो ।